September 20, 2024

एजेन्सी – चरम आर्थिक संकटसँग जुधिरहेको क्याटलान क्लब बार्सिलोनालाई स्पोर्ट्सवेयर दिग्गज पुमाले आकर्षक प्रस्ताव गरेको छ। विभिन्न स्पेनिस खेल मिडियाहरुका अनुसार पुमाले बार्सिलोनालाई आकर्षक प्रस्ताव पठाएको हो।

जर्मन निगमले क्याटलान दिग्गजहरूलाई नाइकीसँगको हालको सम्झौताबाट भंग गरेर आफूहरुसँग सम्झौता गर्न बम्पर प्रस्ताव पठाएको स्पेनिस पत्रिका मार्काले जनाएको छ।

बार्सिलोनाले सन् २०१६ मा नाइकीसँग सम्झौता गरेको थियो। सो सम्झौता सन् २०२८ सम्म रहनेछ भने सम्झौता अनुसार नाइकीले प्रतिसिजन ८५ मिलियन युरो तिरिरहेको छ।

तर पुमाले बार्सिलोनालाई त्यो भन्दा राम्रो सम्झौता प्रस्ताव गरेको छ। पुमा बार्सिलोनालाई वार्षिक १ सय २० मिलियन युरो तिर्न तयार रहेको मार्काको समाचारमा उल्लेख गरिएको छ।

रिपोर्ट अनुसार पुमा बार्सिलोनालाई १ सय मिलियन युरो भन्दा बढी रकम साइनिङ बोनसको रुपमा पनि तिर्न तयार छ। नाइकीसँगको सम्झौता भंग गर्ने हो भने बार्सिलोनाले रिलिज शुल्क तिर्नु पर्ने हुन्छ।

पुमाले दिने भनिएको १ सय मिलियन युरो बार्सिलोनाले नाइकीलाई तिर्न सक्छ र बाँकी रकम खेलाडी ट्रान्सफर तथा पारिश्रमिकमा खर्च गर्न पाउनेछ।

आर्थिक संकटका कारण बार्सिलोनाको अवस्था सिजन पछि सिजन दयनीय बन्दै गइरहेको छ। आर्थिक संकटबाट छुटकारा पाउनको लागि बार्सिलोनाले विभिन्न तरिकाहरु अपनाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *