एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका स्टार मोहम्मद सलाहले नयाँ रेकर्ड बनाएका छन्। युरोपा लिगको अन्तिम १६ को दोस्रो लेगमा गोल गरेसंगै सलाहले नयाँ रेकर्ड बनाएका हुन्।
स्पर्टा प्राग विरुद्धको दोस्रो लेगमा सलाहले खेलको १० औं मिनेटमा गोल गरेका थिए। त्यससंगै जारी सिजनमा सलाहको गोल संख्या २० पुग्यो। सबै प्रतियोगिताका ३१ खेलमा सलाहको गोल संख्या २० पुगेको हो।
यससंगै सलाह लगातार सात सिजन २० गोलको आकडा पूरा गर्ने पहिलो लिभरपुल खेलाडी बनेका छन्। यस भन्दा अगाडी कुनै पनि लिभरपुल खेलाडीले लगातार २० गोल पूरा गर्न सकेका थिएनन्।
सलाहले यस सिजन प्रिमियर लिगमा १५ गोल गरिसकेका छन्। उनले कुल २२ खेलमा १५ गोल गरेका हुन्। युरोपा लिगमा चार गोल गरेका सलाहले एफए कपमा एक गोल गरेका छन्।
बिहिबार राति स्पर्टा प्राग विरुद्धको खेलमा सलाहले ३ असिस्ट पनि प्रदान गरेका थिए। यस सिजन उनले कुल १३ असिस्ट दिसकेका छन्। जसमध्ये ९ असिस्ट प्रिमियर लिगमा आएका छन् भने ४ असिस्ट युरोपा लिगमा।
स्पर्टा प्रागलाई दोस्रो लेगमा ६-१ ले पराजित गरेको लिभरपुलले पहिलो लेगमा ५-१ को सानदार जित निकालेको थियो। समग्रमा ११-२ को जित निकाल्दै लिभरपुल युरोपा लिगको क्वाटरफाइनलमा पुगिसकेको छ।