एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले यस सजनको अन्त्यमा क्लब छाड्ने निर्णय गरिसकेका छन्। उनको क्लब छाड्ने निर्णय सार्वजनिक भएसंगै लिभरपुलमा व्यापक परिवर्तनको चर्चा छ।
क्लोपले क्लब छाड्ने भएपछि क्लबका केहि खेलाडीहरुले पनि क्लब छाड्न सक्ने सम्भावना छ। त्यसमा सबै भन्दा अगाडी मोहम्मद सलाहको नाम अगाडी आइरहेको छ।
सलाह गत समर ट्रान्सफर विन्डो देखि नै साउदी अरबको नजरमा छन्। समर ट्रान्सफर विन्डोमा साउदी क्लब अल इत्तिहादले सलाहका लागि १ सय ५० मिलियन युरो भन्दा बढीको प्रस्ताव पठाएको थियो।
अल इत्तिहादले आगामी समर ट्रान्सफर विन्डोमा पनि सलाहका लागि आकर्षक प्रस्ताव पठाउन सक्ने सम्भावना छ। यस्तो अवस्थामा सलाह लिभरपुलमा रहन्छन् कि रहँदैनन् भन्ने कुरा समयले नै बताउनेछ।
तर केहि मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने सलाह केहि शर्तमा लिभरपुलमै रहन सक्छन्। आफ्नो भविष्य बारे निर्णय गर्नु अगाडी सलाहले क्लबको भावी योजना र भावी प्रशिक्षक बारे जान्न चाहेको केहि खेल मिडियाहरु बताइरहेका छन्।
क्लबको भावी योजना राम्रो देखिए र उत्कृष्ट प्रशिक्षकको क्लबमा आगमन भएमा सलाह लिभरपुलमै रहन सक्ने बताइएको छ। केहि समय अगाडी मात्रै सलाहले क्लोपको बहिर्गमनले आफ्नो भविष्यलाई खासै प्रभाव नपर्ने बताएका थिए।