September 20, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको अनुपस्थितिमा लुइस सुआरेज चम्किएपछि मेजर सकर लिगमा इन्टर मियामीले सानदार जित दर्ता गरेको छ। मियामीले शनिबार राति डिसी युनाइटेडलाई पराजित गरेको हो।

मेस्सीको अनुपस्थितिमा बेन्चबाट मैदान प्रवेश गरेका सुआरेजले सानदार प्रदर्शन गर्दा मियामी ३-१ को गोल अन्तरले विजयी भयो। मियामीको जितमा सुआरेजले २ गोल गरे भने लियोनार्डो क्याम्पानाले एक गोल गरे।

त्यस्तै घरेलु टोलीका लागि भने जारेड स्ट्राउडले एक गोल गरेका थिए। उनले खेलको १४ औं मिनेटमा गोल गरेका थिए। सो गोलबाट डिसी युनाइटेडले अग्रता पाएको थियो।

तर खेलको २४ औं मिनेटमा क्याम्पानाले गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्याए। त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेनन्। खेलको ६२ औं मिनेटमा मियामीले सुआरेजलाई बेन्चबाट मैदान प्रवेश गरायो।

सुआरेजले त्यसको १० मिनेटमै ७२ औं मिनेटमा गोल गर्दै मियामीलाई २-१ को अग्रता दिलाए। खेलको ८५ औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दा खेल ३-१ को अवस्थामा पुग्यो। खेलको ९० औं मिनेटमा डिसी युनाइटेड १० खेलाडीमा समेटिन पुग्यो।

मेजर सकर लिगको जारी सिजनमा मियामीको यो तेस्रो जित हो। सिजनका ५ खेल मद्ये मियामीले १ खेलमा हार बेहोरेको छ भने एक खेलमा बराबरी खेलेको छ। मियामीको १० अंक छ।

मियामी मेजर सकर लिगको इस्टर्न कन्फरेन्स तर्फको शिर्ष स्थानमा छ। पराजित डिसी युनाइटेड भने लिगको आठौँ स्थानमा रहेको छ। उसले ४ खेलबाट ५ अंक जोडेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *