September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुका अनुसार रियल म्याड्रिडका स्टार मिडफिल्डर जुड बेलिङ्घमले आफ्नो क्लबलाई एक स्टार भित्र्याउन सुझाव दिएका छन्।

जुड बेलिङ्घमले रियल म्याड्रिडलाई बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखबाट जमल मुसियालालाई भित्र्याउन सुझाव दिएको दावी विभिन्न खेल मिडियाहरुले गरेका हुन्।

२१ वर्षीय मुसियालाले जुन २०२० मा बायर्नका लागि आफ्नो व्यावसायिक डेब्यु गरेक थिए। आफूलाई संसारको सबैभन्दा रोमाञ्चक प्लेमेकरको रूपमा स्थापित गरेका उनले अहिले सम्म कयौं उपाधि जितिसकेका छन्।

उनले आफ्नो टोलीलाई चार बुन्डेसलिगा उपाधि र एक च्याम्पियन्स लिगको उपाधि सहित १० वटा ट्रफी उचाल्न मद्दत गरेका छन्। बायर्नका लागि उनले अहिले सम्म १ सय ५६ खेल खेलेका छन्।

जसमध्ये ९२ खेलमा उनले सुरुवाती ११ को रुपमा खेलेका छन्। उनले अहिले सम्म ४३ गोल गरेका छन् भने ३० असिस्ट प्रदान गरेका छन्। कम उमेरमै उनको प्रदर्शनले धेरैलाई चकित पारिरहेको छ।

यस्तोमा मुसियालालाई नजिकबाट नियालेको आधारमा बेलिङ्घमले रियललाई मुसियाला भित्र्याउन आग्रह गरेको बताइएको छ। बेलिङ्घमले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई मुसियालालाई अनुबन्ध गर्न सिफारिस गरेको डिफेन्सा सेन्ट्रलले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *