एजेन्सी – विभिन्न स्पेनिस मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने बायर्न म्युनिखका अल्फोन्सो डेभिस स्पेनिस क्लब रियल म्याड्रिड आवद्ध हुन आतुर छन्।
क्यानेडेली लेफ्ट-ब्याक बायर्न म्युनिखबाट रियल म्याड्रिडमा आवद्ध हुन इच्छुक रहेको विभिन्न स्पेनिस खेल मिडियाहरुले गरेका हुन्। डेभिसले बायर्न म्युनिख छाड्ने निर्णय गरिसकेको र उनी रियल म्याड्रिड आवद्ध हुन इच्छुक रहेको बताइएको छ।
लेफ्ट-ब्याक बायर्न म्युनिखसँग आफ्नो सम्झौताको अन्तिम १८ महिनामा छन्। बायर्न उनलाई एलियान्ज एरेनामा राख्न उत्सुक छ। तर डेभिस भने नयाँ चुनौतीका लागि अगाडी बढ्ने योजनामा देखिएका छन्।
रियलले डेभिसका लागि समर ट्रान्सफर विन्डोमा बोलि लगाउने योजना बनाएको स्पेनिस खेल पत्रिका एएसले जनाएको छ। लस ब्लान्कोस स्थितिको फाइदा उठाउन र सान्टियागो बर्नाबेउमा उनलाई भित्र्याउन तयार रहेको एएसको दावी छ।
बायर्नले डेभिसलाई क्लबमा रहन पारिश्रमिक बढाएर नयाँ सम्झौता प्रस्ताव गर्ने तयारी गरेको पनि दावी बाहिर आएको छ। तर खेलाडी भने रियल आवद्ध हुन आतुर देखिएको एएसले दावी गरेको छ।