एजेन्सी – बार्सिलोनाका वन्डरकिड लामाइन यामलले क्याम्प नोउमा लियोनेल मेस्सीको पुरानो नम्बर १० जर्सी लगाउने आफ्नो सपना रहेको बताएका छन्।
मुन्डो डेपोर्टिभोसँगको एक कुराकानीका क्रममा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले लगाएको आइकनिक १० नम्बरको जर्सी लगाउने आफ्नो सपना रहेको बताएका हुन्।
“अहिले बार्सिलोनाको नम्बर १० फाती हुन्। तर उनी यहाँ भएनन् भने जर्सी नम्बर १० पाउनु गर्वको कुरा हुनेछ। कुनै पनि खेलाडीसँग लागि बार्सिलोनाको नम्बर १० बन्ने सपना हुन्छ। यस संसारमा कसैले पनि होइन भन्न सक्दैन, तर यो क्लबले व्यवस्थापन गर्नुपर्ने कुरा हो।”,यामलले भने।
मेस्सीले सन् २०२१ मा क्लब छाडेपछि जर्सी नम्बर १० बार्सिलोनाले अन्सु फातीलाई दिएको थियो। तर जर्सी नम्बर १० पाएपनि फातीले त्यति राम्रो प्रदर्शन गर्न भने सकेनन्।
अहिले उनी प्रिमियर लिग क्लब ब्राइटनमा छन्। बार्सिलोनाले गत समर ट्रान्सफर विन्डोमा फातीलाई लोनमा ब्राइटन पठाएको थियो। बार्सिलोनाले फातीबाट जर्सी नम्बर १० खोस्न सक्ने बताइन्छ।
यस्तोमा जर्सी नम्बर १०को भार बहन गर्न यामल तयार देखिएका छन्। मात्र १६ वर्षको उमेरमा यामलले धेरै राम्रो प्रदर्शन गरिरहेका छन्। यामल पछिल्लो समय बार्सिलोनाको टोलीको महत्वपूर्ण हिस्साको रुपमा रहेका छन्।