September 19, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुले गरिरहेको दावीलाई मान्ने हो भने प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर बर्नार्डो सिल्भाले क्लब छाड्ने निर्णय गरेका छन्।

बेलायत तथा स्पेनबाट प्रकाशित हुने विभिन्न मिडियाहरुले सिटीका पोर्चुगिज मिडफिल्डर बर्नार्डो सिल्भाले यस सिजनको अन्त्यमा सिटी छाड्ने निर्णय गरेको दावी गरेका हुन्।

सिटी छाडेपनि कुन क्लबमा आवद्ध हुने भनेर पनि सिल्भाले निर्णय गरिसकेको बताइएको छ। सिल्भाले सिटी छाडेपछि बार्सिलोना आवद्ध हुने निर्णय गरेको बताइएको छ।

सिल्भाको नाम गत सिजन देखि नै बार्सिलोनासँग जोडिएको छ। बार्सिलोनाले गत समरमा नै सिल्भालाई भित्र्याउन खोजेको थियो। तर सिटीले उच्च मूल्य तोकेपछि बार्सिलोना उनलाई भित्र्याउन असमर्थ भएको थियो।

सिल्भा र सिटी बीचको सम्झौतामा रिलिज क्लज रहेको र सो क्लज आगामी समर ट्रान्सफर विन्डोमा सक्रिय हुने बेलायती खेल मिडियाहरुको दावी छ । खबर अनुसार रिलिज क्लज ५० मिलियन युरो आसपास रहेको छ।

पूर्व एएस मोनाको प्लेमेकरले सेप्टेम्बरमा म्यानचेस्टर सिटीसँग नयाँ एक वर्षको सम्झौता थप गरेका थिए। परिवार बार्सिलोनामा रहेका कारण पनि सिल्भा बार्सिलोना आवद्ध हुने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *