एजेन्सी – च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा मंगलबार राति रियल म्याड्रिड र बायर्न म्युनिखले बराबरी खेले। बायर्नको घरेलु मैदानमा भएको खेलमा रियल र बायर्नले २-२ को बराबरी खेलेका हुन्।
दुवै टोलीले एक-एक पटक अग्रता लिएपनि जित निकाल्न भने सकेनन्। रियल म्याड्रिडका लागि दुवै गोल ब्राजिलियन युवा स्टार भिनिसियस जुनियरले गरेका थिए।
बायर्न विरुद्ध गोल गरेसंगै भिनिसियस जुनियरले एक रेकर्ड पनि बनाए। उनी पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र केभिन डे ब्रुएना भएको एक दुर्लभ खेलाडीहरुको सूचीमा समावेश हुन सफल भए।
मंगलबार राति युसीएल सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिख विरुद्ध गोल गर्दै भिनिसियस जुनियरले क्रिस्टियानो रोनाल्डो र केभिन डे ब्रुएनाको च्याम्पियन्स लिगको कीर्तिमानलाई बराबरी गरे।
भिनिसियसले क्रमशः २०२१-२२, २०२२-२३ र २०२३-२४ सिजनमा लगातार तीनवटा च्याम्पियन्स लिग सेमिफाइनलमा गोल गरेका छन्। उनी रियल म्याड्रिडका पूर्व लिजेन्ड क्रिस्टियानो रोनाल्डोसँग जोडिए। रोनाल्डोले २०११-१२, २०१२-१३, २०१३-१४, २०१४-१५ सिजनमा गोल गरेका थिए।
२०२०-२१, २०२१-२२ र २०२२-२३ सिजनमा गोल गर्ने केभिन डे ब्रुएना र १९९४-९५, १९९५-९६ र १९९६-९७ मा गोल गर्ने ज्यारी लिटम्यानेनको पनि यही कीर्तिमान छ।
भिनिसियसले रियल म्याड्रिडका लागि सबै प्रतियोगिताहरूमा यस सिजन ३४ खेलमा २१ गोल गरेका छन् भने ११ असिस्ट दिएका छन्।