एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने अर्जेन्टिनी राष्ट्रिय टोलीका सहकर्मी एन्जेल डि मारिया र लियोनेल मेस्सी बीच पुनर्मिलन हुन सक्छ।
अर्जेन्टिनी टोलीबाट लामो समय देखि संगै खेलिरहेका मेस्सी र एन्जेल डि मारिया बीच मेजर सकर लिग क्लब इन्टर मियामीमा पुनर्मिलन हुन सक्ने सम्भावना देखिएको विभिन्न खेल मिडियाहरुले दावी गरेका हुन्।
अहिले पोर्चुगिज क्लब बेन्फिकाबाट खेलिरहेका डि मारियालाई इन्टर मियामीले टार्गेट बनाएको इएसपिएन अर्जेन्टिनाले जनाएको छ। मियामीले मेस्सी र लुइस सुआरेजसंगै डि मारियालाई मैदानमा उतार्ने योजना बनाएको बताइएको छ।
डि मारिया र मेस्सी अर्जेन्टिना राष्ट्रिय टोलीका लामो समयका साथी हुन्। यी दुईले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)मा संगै खेलेका थिए। तर मेस्सी पिएसजीबाट मियामी पुग्दा डि मारिया युभेन्टस पुगेका थिए।
त्यहाँबाट उनी बेन्फिका पुगे। बेन्फिका र डि मारिया बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। डि मारियाले बेन्फिकासँगको सम्झौता थप्छन् कि थप्दैनन् भन्ने कुरा समयले नै बताउनेछ।
यस्तोमा मियामीले डि मारियाको अवस्था जान्नको लागि सम्पर्क गरेको बताइएको छ।