December 23, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले अपमान गरेपनि जाभी हर्नान्डेजले भने क्लबलाई सहयोग नै गर्ने भएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार बार्सिलोनाले अपमान गरेपनि जाभीले क्लबलाई सहयोग गर्ने भएका हुन्।

बार्सिलोनाले शुक्रबार मात्रै जाभीलाई बर्खास्त गरेको थियो। कम्तीमा थप एक सिजन बार्सिलोना बस्न तयार भएपनि बार्सिलोनाले शुक्रबार जाभीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

सम्झौताको एक वर्ष बाँकी छँदै जाभीलाई बर्खास्त गरेपनि जाभीले भने बार्सिलोनालाई आर्थिक संकटमा पर्ने कुनै योजना बनाएका छैनन्। सम्झौतामा एक वर्ष बाँकी रहेको अवस्थामा बर्खास्त गरिएका कारण बार्सिलोनाले जाभीलाई एक वर्षको पारिश्रमिक दिनु पर्ने हुन सक्थ्यो।

तर जाभी सो रकम नलिने सोचमा रहेको स्पेनिस मिडियाहरुले जनाएका छन्। बार्सिलोनाको आर्थिक संकटलाई मध्यनजर गर्दै जाभीले सो छुट दिने मनसाय बनाएको बताइएको छ।

स्पेनियार्डले आफ्नो बाँकी तलब नमाग्ने बताएपनि आफ्ना सहायक र अन्य प्रशिक्षकको पारिश्रमिक भने तिर्न क्लबलाई आग्रह गरेको बताइएको छ। यसको अर्थ अब बार्सिलोनाले जाभीलाई एक वर्षको पारिश्रमिक दिनु पर्ने छैन।

जाभीको यस निर्णयका कारण बार्सिलोनाले १२ मिलियन युरो रकम जोगाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *