एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी क्लब अल नासरको बदाई लम्ब्याउन सक्छन्।
पोर्चुगिज स्टार रोनाल्डोले अल नासरसँग नयाँ सम्झौता गर्ने र साउदी बसाई लम्ब्याउन सक्ने सम्भावना रहेको दावी युरोप र साउदीबाट प्रकाशित हुने विभिन्न खेल मिडियाहरुले गरेका हुन्।
३९ वर्षीय रोनाल्डोले रियादमा रहेको टोलीसँगको सम्झौता १२ महिना थप गर्न सक्ने टकस्पोर्टले जनाएको छ। अल नासर र रोनाल्डो बीच सन् २०२५ सम्मका लागे सम्झौता छ।
तर अब सो सम्झौता एक वर्ष थप हुन सक्छ। त्यसो भएको खण्डमा रोनाल्डो सन् २०२६ मा हुने विश्वकप सम्म नै अल नासरमा रहनेछन्। अल नासरमै रहेर रोनाल्डोले विश्वकपमा सहभागी हुने योजना बनाएको बताइन्छ।
रोनाल्डो अल नासर आएदेखि नै निरन्तर उच्च प्रदर्शन गर्दै आएका छन्। यस सिजन उनले साउदी प्रो लिगमा गोल्डेन बुट जिते। रोनाल्डोले साउदी प्रो लिगका ३१ खेलमा ३५ गोल गरे।
रोनाल्डो आगामी सिजन अल नासरबाट पक्कै पनि साउदी प्रो लिगको उपाधि जित्ने योजनामा हुनेछन्।