एजेन्सी – कोपा अमेरिका अगाडी विश्वविजेता अर्जेन्टिनाले विभिन्न मैत्रीपूर्ण खेलहरु खेल्दैछ। कोपा अमेरिका उपाधिको रक्षा गर्नु अगाडी अर्जेन्टिनाले दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
कोपा अमेरिका अगाडी अर्जेन्टिनाले पहिलो मैत्रीपूर्ण खेलमा इक्वेडरको सामना गर्नेछ। अर्जेन्टिना र इक्वेडर बीचको खेल सोमबार बिहान शिकागोको सोल्डर फिल्डमा हुनेछ।
सो खेलमा लियोनेल मेस्सी हुन्छन् कि हुँदैनन् भन्ने कुरामा सबैको चासो छ। यसैबीच पत्रकार ग्यास्टन एडुलले इक्वेडर विरुद्धको खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सहभागी हुने बताएका छन्।
३६ वर्षीय मेस्सीले चोटका कारण २०२४ मा अर्जेन्टिनाले खेलेका दुवै मैत्रीपूर्ण खेल गुमाएका थिए। त्यस्तै उनले चोटकै कारण इन्टर मियामीका पाँच खेल पनि गुमाएका थिए।
तर इक्वेडरको सामना गर्न भने मेस्सी फिट रहेको बताइएको छ। इक्वेडरको सामना गर्न मेस्सी शारीरिक रुपमा तयार रहेको र उनी सो खेलमा खेल्ने एडुलको दावी छ।
“मेस्सी राष्ट्रिय टोलीका लागि सबै मिनेट, सबै खेलहरू खेल्न चाहन्छन्। मलाई कुनै शंका छैन कि उनले आइतवार इक्वेडर विरुद्धको मैत्रीपूर्ण खेलमा सुरुवात गर्नेछन्।”,एडुल भन्छन्।