एजेन्सी – जर्मनीमा जारी युरो कपमा स्पेनले सानदार सुरुवात गरेको छ। युरो कप २०२४ को पहिलो खेलमा स्पेनले शनिबार राति सानदार जित दर्ता गरेको हो।
शनिबार राति स्पेनले क्रोएसियालाई ३-० को गोल अन्तरले पराजित गर्यो। स्पेनले क्रिएसिया विरुद्ध पहिलो हाफमै ३-० अग्रता लिएकोमा त्यसलाई अन्त्य सम्म कायम राख्यो।
स्पेनको जितमा अल्भारो मोराटा, फाबियन रुइज र ड्यानी कार्भाजलले एक-एक गोल गरे। खेलको २९ औं मिनेटमा रुइजको पासमा मोराटाले गोल गर्दा स्पेनले अग्रता पाएको थियो।
खेलको ३३ औं मिनेटमा स्पेनले अग्रता दोब्बर पार्यो। सो गोल पेड्रीको पासमा रुइजले गरेका थिए। पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा स्पेनले अग्रता तेब्बर बनायो।
सो गोल कार्भाजलले गरेका थिए। त्यसका लागि पास युवा स्टार लामिन यामलले मिलाएका थिए। खेलभर बलमा बढी नियन्त्रण भने क्रोएसियाले राखेको थियो।
बलमा क्रोएसियाको ५४ प्रतिशत नियन्त्रण थियो। तर क्रिएसिया आक्रमणमा भने चुक्न पुग्यो।