एजेन्सी – टर्कीका पूर्व प्रशिक्षक फातिह तेरिमले युरो कपमा टर्कीले पोर्चुगललाई दबाबमा राख्न सक्ने बताएका छन्। युरो कपमा आमने-सामने हुनु अगाडी तेरिमले त्यस्तो बताएका हुन्।
जर्जियामाथि जित निकालेको हुँदा टर्कीले फाइदा मिल्ने उनले बताए। जर्जिया विरुद्ध जित निकालेपछि टर्कीको मनोबल बढेको र त्यसले पोर्चुगल विरुद्धको खेलमा धेरै सहयोग पुर्याउने उनको भनाई छ।
त्यसक्रममा उनले टर्की विरुद्ध पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अहिले सम्म गोल गर्न नसकेको तथ्यलाई उल्लेख गर्न पनि छुटाएनन्। तर रोनाल्डो थप प्रेरित हुन सक्ने पनि उनको डर छ।
“क्रिस्टियानोले आफ्नो करियरमा टर्कीविरुद्ध एक गोल पनि गर्न सकेका छैनन्। तर यो उनको लागि प्रेरणाको स्रोत पनि हुन सक्छ। टर्कीले जितोस् भन्ने मेरो हार्दिक कामना छ!”,तेरिमले भने।
पोर्चुगल र टर्की आज राति आमने-सामने हुनेछन्। खेल नेपाली समय अनुसार रातको ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
पोर्चुगल अहिले युरो कपको समूह ‘एफ’को दोस्रो स्थानमा छ भने टर्की शिर्ष स्थानमा रहेको छ। दुवै टोलीले यस अगाडी एक-एक जित निकालिसकेका छन्।
पोर्चुगलले पहिलो खेलमा चेक रिपब्लिकलाई पराजित गर्दा टर्कीले जर्जियालाई पराजित गरेको थियो। आज जित्ने टोली समूहको शिर्ष स्थानमा उक्लिनेछ।