एजेन्सी – जर्मनीमा जारी युरो कपको अन्तिम समूह चरण खेलका लागि पोर्चुगल आज राति एक्सनमा उत्रँदैछ। पोर्चुगलले समूह चरणको अन्तिम खेलमा जर्जियाको सामना गर्नेछ।
पोर्चुगलले समूह चरणका दुई मध्ये दुवै खेलमा जित निकालिसकेको छ। पहिलो खेलमा चेक रिपब्लिकलाई २-१ को गोल अन्तरले पराजित गर्दा पोर्चुगल टर्की विरुद्धको खेलमा ३-० को गोल अन्तरले विजयी भएको थियो।
पोर्चुगल ६ अंक जोडेर शिर्ष स्थानमा छ। जर्जियाले भने प्रतियोगितामा जित निकाल्न बाँकी छ। पोर्चुगल आज राति तेस्रो जितको खोजिमा हुँदा जर्जिया पहिलो जित निकाल्ने योजनामा हुनेछ।
जर्जियाले चेक रिपब्लिकसँग बराबरी खेल्दै १ अंक बटुलेको छ। पोर्चुगल र जर्जिया बीच अहिले सम्म मात्र एक पटक भेट भएको छ। सन् २००८ मा भएको मैत्रीपूर्ण खेल पोर्चुगलले २-० को गोल अन्तरले जितेको थियो।
जर्जिया तुलनात्मक रुपमा कम्जोर टोली हो। जस कारण आज पोर्चुगल ठूलो गोल अन्तरको जित निकाल्ने योजना सहित मैदानमा उत्रनेछ। कप्तान क्रिस्टियानो रोनाल्डोले जारी प्रतियोगितामा गोल गर्न बाँकी छ।
आज रोनाल्डोका लागि गोल गर्ने सूवर्ण अवसर हुन सक्छ। गोल गर्न नसकेपनि रोनाल्डोले एक असिस्टको योगदान भने दिसकेका छन्।