एजेन्सी – पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले युरो कपको समूह चरणको अन्तिम खेलमा भिडियो असिस्टेन्ट रेफ्री(भिएआर) असंगत भएको टिप्पणी गरेका छन्।
जर्मनीमा जारी युरो कपको समूह चरणको अन्तिम खेलमा जर्जियासँग पराजित भएपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा मार्टिनेजले यस्तो टिप्पणी गरेका हुन्।
“हामी भाग्यमानी थिएनौं र त्यसपछि भिएआर पनि असंगत रह्यो। क्रिस्टियानोको अवस्थामा हामीले पेनाल्टी पाउनु पर्ने थियो। भिएआरबाट के भएको थियो भनेर हेरेर पेनाल्टी दिन सकिन्थ्यो। तर त्यस्तो भएन। २७ औं मिनेटमा स्थिति स्पष्ट छ।”,मार्टिनेजले भने।
मार्टिनेजले खेललाई पोर्चुगलको लागि ‘खराब नतिजा’ भनेर वर्णन गरे। उनले अन्तिम १६ का लागि आफूहरुको ध्यान केन्द्रित भैसकेको बताउन पनि छुटाएनन्।
बुधबार राति पोर्चुगलले जर्जिया विरुद्ध कम्जोर प्रदर्शन गर्दै २-० को हार बेहोरेको थियो। हारका बाबजुत पोर्चुगल अन्तिम १६ मा प्रवेश गरिसकेको छ।