एजेन्सी – जर्मनीमा जारी युरो कपको क्वाटरफाइनलमा स्थान बनाउन पोर्चुगल आज राति एक्सनमा उत्रँदैछ। अन्तिम १६ को नकआउट खेलका लागि पोर्चुगल आज राति एक्सनमा उत्रन लागेको हो।
युरो कपको अन्तिम १६ अन्तर्गत पोर्चुगलले आज राति स्लोभेनियाको सामना गर्नेछ। पोर्चुगल र स्लोभेनिया बीचको खेल नेपाली समय अनुसार आज राति १२ बजेर ४५ मिनेटमा ड्यूश बैंक पार्कमा सुरु हुनेछ।
युरो कपको समूह चरणमा पोर्चुगलले ३ मध्ये २ खेलमा जित निकालेको थियो भने एक खेलमा पराजय भोगेको थियो। पहिलो खेलमा चेक रिपब्लिकलाई २-१ को गोल अन्तरले पराजित गरेको थियो।
त्यस्तै दोस्रो खेलमा टर्कीलाई ३-० को गोल अन्तरले हराएको थियो। तर तेस्रो खेलमा भने पोर्चुगल जर्जियासँग पराजित भएको थियो। सो खेलमा जर्जिया २-० को गोल अन्तरले विजयी भएको थियो। पोर्चुगल समूह ‘एफ’को विजेता हो।
स्लोभेनिया भने समूह ‘सि’मा तेस्रो हुँदै अन्तिम १६ मा प्रवेश गरेको थियो। स्लोभेनियाले समूह चरणमा तीन मध्ये तीनै खेलमा बराबरी खेलेको थियो।
रोनाल्डोको गोल खडेरी
पोर्चुगल र स्लोभेनिया आमने-सामने हुँदा आज धेरैको नजर कप्तान क्रिस्टियानो रोनाल्डो माथि हुनेछ। रोनाल्डोले जर्मनीमा जारी प्रतियोगितामा गोल गर्न सकेका छैनन्।
समूह चरणमा एक असिस्टको योगदान दिएपनि रोनाल्डो गोल बिहिन छन्। पक्कै पनि रोनाल्डो आज स्लोभेनिया विरुद्ध सानदार प्रदर्शन गर्ने योजनामा हुनेछन्।