एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरहरुलाई मान्ने हो भने पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सन् २०२६ मा हुने विश्वकपमा सहभागी हुने योजनामा छन्।
जर्मनीमा जारी युरो कपमा खासै राम्रो प्रदर्शन गर्न नसकेपनि रोनाल्डोले सन् २०२६ मा आयोजना हुने विश्वकपमा सहभागी हुने योजना बनाएको विभिन्न खेल मिडियाहरुले दावी गरेका हुन्।
आफ्नो करियरमा पहिलो पटक भेट्रान स्टारले ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्न असफल भएका छन्। रोनाल्डोले यूरोको छवटा विभिन्न संस्करणका समूह चरणमा गोल गरेपनि यस पटक गोल गर्न सकेनन्।
जससंगै रोनाल्डोको खेल खस्किएको चर्चा सुरु भएको छ। तर रोनाल्डो भने यसबाट माथि उठेर आफूलाई उत्कृष्ट लयमा राख्दै आगामी विश्वकपमा सहभागी हुने योजनामा रहेको बताइएको छ।
युरोपियन च्याम्पियनसिप रोनाल्डोको अन्तिम प्रमुख प्रतियोगिता नहुने स्पेनिस पत्रिका रेलेभोले जनाएको छ। रेलेभोका अनुसार रोनाल्डो छैठौं पटक विश्वकपमा सहभागी भएर रेकर्ड बनाउन चाहन्छन्।