एजेन्सी – विश्वविजेता अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकामा जारी कोपा अमेरिकाको क्वाटरफाइनल पार गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो।
शुक्रबार बिहान अर्जेन्टिनाले टाईब्रेकरमा इक्वेडरलाई ४-२ को पराजित गर्यो। अर्जेन्टिनाको जितमा गोलरक्षक इमिलियानो मार्टीनेजले महत्वपूर्ण भूमिका निभाए।
मार्टीनेजले पेनाल्टी शूटआउटमा दुई वटा पेनाल्टी जोगाएका थिए। खेलको पहिलो हाफमा अग्रता लिएपनि खेलको इन्ज्युरी समयमा गोल बेहोर्दा खेल टाईब्रेकरमा गएको थियो।
खेलको ३५ औं मिनेटमा डिफेन्डर लिसान्द्रो मार्टिनेजको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो। लियोनेल मेस्सीको कर्नर किकमा एलेक्सिस मक यालिस्तरको फ्लिक-अन हेडरलाई मार्टिनेजले फ्रि-हेडर प्रहार गर्दै गोल गरेका थिए।
इन्ज्युरी समयको दोस्रो मिनेटमा इक्वेडोरले बराबरी गोल गर्यो। सो गोल जोन येवोआहको क्रसमा केभिन रोड्रिगेजले हेडर मार्फत गरेका थिए। कोपा अमेरिकामा क्वाटरफाइनल र सेमिफाइनलमा बराबरी भए खेल सिधै पेनाल्टी सुटआउटमा जान्छ।
पेनाल्टी सुटआउटमा लियोनेल मेस्सी असफल भए। तर जुलियन अल्भारेज, एलेक्सिस मकयालिस्टर, गोन्जालो मोन्टीएल र निकोलस ओटामेण्डीले भने गोल गरे।
इक्वेडरका लागि जोन येबोआह र जोर्डी काईसेडोले गोल गर्दा एन्जल मेना र एलन मिन्डा भने असफल भए।