एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलले प्रिसिजनको लगातार तेस्रो जित निकालेको छ। प्रिसिजनका लागि अमेरिका भ्रमणमा रहेको लिभरपुलले तेस्रो जित निकालेको हो।
शनिबार बिहान अमेरिकामा भएको खेलमा लिभरपुलले प्रिमियर लिग प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडलाई ३-० को गोल अन्तरले पराजित गर्यो। लिभरपुलका लागि तीन गोल तीन फरक खेलाडीले गरे।
बलमा बढी नियन्त्रण राखेको लिभरपुलका लागि फाबियो कार्भाल्हो, कर्टिस जोन्स र सिमिकासले एक-एक गोल गरे। कार्भाल्हो र जोन्सले पहिलो हाफमा गोल गर्दा सिमिकासले दोस्रो हाफमा गोल गरेका थिए।
खेलभर लिभरपुलले बलमा कुल ५३ प्रतिशत नियन्त्रण राखेको थियो। तर बढी प्रहार भने युनाइटेडको तर्फबाट भएका थिए। खेलभर युनाइटेडले १८ प्रहार गरेको थियो।
जसमध्ये ८ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा भने परिणत हुन सकेनन्। लिभरपुलको तर्फबाट ९ प्रहार हुँदा ५ प्रहार टार्गेटमा थिए। जस मध्ये ३ प्रहार गोलमा परिणत भए।