एजेन्सी – विभिन्न खेल मिडियाहरुका अनुसार स्पेनी महारथी रियल म्याड्रिडले आफ्ना एक खेलाडीका लागि साउदीअरेबियाबाट आएको आकर्षक प्रस्ताव अस्विकार गरेको छ।
रियल म्याड्रिडले क्लबका सेन्टर ब्याक एडर मिलिटाओका लागि साउदी अरेबियाबाट आएको १ सय मिलियन युरोको आकर्षक प्रस्तावलाई अस्विकार गरेको विभिन्न खेल मिडियाहरुले दावी गरेका हुन्।
२६ वर्षीय मिलिटाओ सन् २०१९-२० सिजनदेखि लस ब्लान्कोससँग छन्। उनले अहिले सम्म रियलका लागि १ सय ५६ खेल खेलेका छन्। जसमा उनले ११ गोल गरेका छन् भने ५ असिस्ट प्रदान गरेका छन्।
गत हप्ता वार्सामा भएको युइएफए सुपर कपमा एटलान्टामाथिको जितमा मिलिटाओ देखा परेका थिए। ब्राजिलियन खेलाडीको रियलमा सन् २०२८ सम्मका लागि सम्झौता छ।
साउदीबाट १ सय मिलियन युरोको प्रस्ताव आएपनि रियल मिलिटाओलाई बेच्न खासै इच्छुक देखिएन। यस अगाडी साउदीले रियलका ब्राजिलियन स्टार भिनिसियस जुनियरलाई पनि सम्पर्क गरेको थियो।
खबर अनुसार साउदीबाट भिनिसियसलाई १ बिलियन युरो आसपासको सम्झौता प्रस्ताव गरिएको थियो।